
देउखुरी,३० चैत ।
दाङ–लमही नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको बा २ झ ४०२१ नम्बरको सवारी साधन सम्बन्धमा सामाजिक सञ्जालमा फैलिएका विभिन्न टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले सार्वजनिक सम्पत्तिका विषयमा आम नागरिकले चासो राख्नु स्वाभाविक भए पनि सत्य तथ्य नबुझी भ्रम सिर्जना हुने गरी अफवाह फैलाउनु उचित नभएको स्पष्ट पारेको छ ।
नगरपालिकाका अनुसार उक्त सवारी साधन २०८२ साल जेठ ९ गते लमही–घोराही सडकखण्डअन्तर्गत चौपथामा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गाडी मर्मतका लागि सिद्धि कम्पनी, घोराही लगिएको जनाइएको छ । सो समयमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा कार्यरत रहँदा उक्त गाडी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित अल।एटु।जेट। अटो वर्कसपमा पठाइएको थियो । नगरपालिकाले जानकारी दिएअनुसार दुर्घटनाग्रस्त सवारी साधन मर्मतका लागि बीमा कम्पनीबाट आर्थिक सहयोग हुने र आंशिक खर्च नगरपालिकाले व्यहोर्ने निर्णय भई मर्मत प्रक्रिया अघि बढाइएको थियो ।
तर मर्मतकै क्रममा २०८२ साल फागुन २४ गते राति करिब १२स्०० बजे वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त गाडी सहित अन्य विभिन्न सवारी साधन, उपकरण तथा सामग्रीहरू जलेर नष्ट भएका थिए । आगलागीमा त्यहाँ रहेका गाडीका सिसा, गाडी धुने मेसिन, ग्राइन्डर, कम्प्रेसर, ड्रिल मेसिन, पेन्ट सामग्री, ब्याट्री, चेनफुली लगायतका सामग्रीमा क्षति पुगेको प्रहरी मुचुल्कामा जनाइएको छ ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन समेत पेश गरिसकेको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले घटनाबारे अनावश्यक भ्रम र अफवाह नफैलाउन सम्पूर्ण नगरबासीमा अनुरोध गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।



लाइभदाङ । ३० चैत्र २०८२, सोमबार २०:०२ बजे