
दाङ, ८ चैत । दाङ स्थित तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मुहान सरसफाई गरेर ३४ औं विश्व जल दिवस मनाएको छ ।
आईतबार संस्थाको कपुरकोट गाउँपालिका ३ सल्यान स्थित धैरेनी मुहानमा पुगेर सरसफाई गरिएको हो । जुन तुलसीपुर खानेपानीको मुख्य मुहान रहेको छ । पछिल्लो समय खानेपानीका मुहानहरु सुक्दै जान थालेको भन्दै मुहान संरक्षण गर्ने सन्देश प्रदान गर्न पनि यस्तो कार्यक्रम आयोजना गरिएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।“खानेपानीका मुहान सुक्दै जान थालेका छन्, पानीको अभाब खड्किदै जान थालेको छ”,उनले भने “त्यसैले पनि हामीले मुहान संरक्षणकालागि यस्तो अभियान थालेका हौं ।” उनले बबई लिफ्टिङ केही समयमा पूरा हुने भन्दै त्यसले खानेपानीको आपूर्तिमा सहजता ल्याउने समेत उनले बताए ।
खानेपानीका पदाधिकारीहरुसहित कर्मचारी, सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिहरु उक्त कार्यमा सहभागि भएका थिए ।
त्यस अवसरमा संस्थाका सल्लाहकार जनक खरालले खानेपानीको माग बढ्दै गएपछि पानीका स्रोतहरु घटेको प्रति चिन्ता ब्यक्त गरे । हाल बबई लिफ्टिङको काम अघि बढिरहेकाले त्यसले पूर्णता पाएमा खानेपानी आपूर्तिमा केही सहज हुने उनको भनाई थियो । यद्यपी अन्य खानेपानीाक स्रोतहरु पनि पहिचान गर्र्नु आबश्यक रहेको सल्लाहकार खरालले बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दाङ क्षेत्र नम्बर ३ का संयोजक बलिराम खत्रीले तुलसीपुर खानेपानीका मुहानहरुमा हाइड्याम्प निर्माणकालागि पहल गर्ने बताए ।
कार्यक्रममा पत्रकार नारायण खड्का, नारायणपुर खानेपानीका अध्यक्ष श्रवण रजौरे, घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसी, इन्जिनियर हडेन्द्र भट्ट, स्थानीय बन महासंघका अध्यक्ष खेमलाल महतारा, पार्षदहरू शारदा जिसी, गोपाल रावत र सात गाउँले कुलोका अध्यक्ष सुधिर केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष नारायण प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुवन भुषालले गरेका थिए ।



लाइभदाङ । ८ चैत्र २०८२, आईतवार २२:३६ बजे