
तुलसीपुर,३ चैत ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिए । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
उनले जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलाश कक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । त्यस अवसरमा प्रधानन्यायाशीध राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए ।
उनले नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले अदालतको भवन जेलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय परिसरको गाडी ग्यारेजमा अस्थायी इजलाश निर्माणगरी न्यायसम्पान भइरहेको जानकारी दिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायत वक्ताहरूले विषम परिस्थितिमा अदालतले न्यायसम्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।



लाइभदाङ । ३ चैत्र २०८२, मंगलवार २३:०३ बजे