रोल्पामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

रोल्पा, ०१ काीर्तक ।
रोल्पामा अटो दुर्घटनामा त्यसमा सवार दुबै जनाको यात्रुको मृत्यु भएको छ।

दुर्घटनामा परी जिल्लाको माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्ती मगरको मृत्यु भएको हो।

जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार भण्डारीलाई स्मृति अस्पताल घर्तीगाउँका चिकित्सकले चेकजाँचपछि बिहान साढे ११ बजेतिर मृत घोषणा गरेका थिए।

त्यस्तै गम्भीर घाइते मगरलाई त्यहाँबाट थप उपचारका लागि दाङका लागि रिफर गरिएको थियो। तर, उनको पनि दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि बाटोबाटै फिर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।


अटोमा चालक सहित तीन जना मात्रै सवार थिए। चालक माडी– ३ तालाबाङका ४७ वर्षीय कमलसिंह बुढा प्रहरी नियन्त्रणमा छन्।

तुलसीपुर घर्ती गाउँ भित्री सडक खण्ड अन्तगर्त माडी – १ चालाङमा आइतबार बिहान १० बजेतिर घर्ती गाउँदेखि पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकदेखि करिब ६०० मिटर मुनि खसेको थियो।

घटनाबारे इलाका प्रहरी कार्यालय घर्ती गाउँले सवा १० बजेतिर खबर पाएको थियो।

त्यसपछि इप्रका घर्ती गाउँबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा पुगेर घाइतेलाई उद्धार गरी स्मृति अस्पताल घर्ती गाउँमा पुर्‍याएको थियो।