रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

रोल्पा, १२ फागुन ।
रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा परी रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ६ निवासी २४ वर्षीया विष्णुमाया बुढा मगरको घटनास्थलमै मृत्यु भएको हो ।

घोराही–होलेरी सडकखण्ड अन्तर्गत रोल्पाको रुण्टीगढी गाउँपालिका–५ र घोराही उपमहानगरपालिका वडा नं. १९ को सिमाना खुमबासस्थित घोराहीबाट होलेरीतर्फ जाँदै गरेको लु १ ज ४८५४ नम्बरको बोलेरो जिप मंगलबार बिहान ९ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा सवार चालकसहित अन्य १० जना घाइते भएका छन् । दुर्घटनामा मृतक बिष्णुमायाको ३ वर्षीय छोरा साईमन पुन गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।


यसैगरी दुर्घटनामा जिप चालक रोल्पाको माडी गाउँपालिका–५ का २२ वर्षीय भरत वली, परिवर्तन गाउँपालिका–६ की १८ वर्षीया प्रतिभा पुन मगर, परिवर्तन–४ की १९ वर्षीया जुना वली, २६ वर्षीया हिमाली वली घाइते हुनुभएको छ ।

यस्तै परिवर्तन गाउँपालिका–३ की ३२ वर्षीया खिमा केसी, परिवर्तन गाउँपालिका–६ की ३० वर्षीया पुष्पा बुढा मगर, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ रुघा निवासी १७ वर्षीया सुष्मा केसी, रोल्पाको माडी गाउँपालिका–३ निवासी ६० वर्षीया भिमु राना र परिवर्तन गाउँपालिका–६ की १२ वर्षीया चादनी बुढा घाइते हुनुभएको छ ।

प्रहरीले सबै घाइतेहरूलाई उद्धार गरी तत्कालै उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । घाइतेमध्ये धेरैजसोको अवस्था मध्यम रहेको र उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रोल्पा प्रहरीले जनाएको छ ।