स्थापना दिवसमा रक्तदान

तुलसीपुर, ११ फागुन ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३८ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा फार्मेशी सङ्कायको व्यवस्थापन एवम् नेपाल रेडक्रस सोसाइटी तुलसीपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

फार्मेशी सङ्काय तेस्रो वर्षका विद्यार्थी तुलराज बरालको अध्यक्षता एवम् कलेजका सहायक प्रमुख गोपाल रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुवात् कानुन सङ्कायका प्रशिक्षकहरू सुष्मा केसीले र प्रेक्षा गोराथोकीले जीवनमै पहिलो पटक रक्तदान गरेर गर्नुभएको थियो । कार्यक्रममा तेजिना डिसी,दीपा केसी,कविन विसी,डेभिट केसी,नम्रप्रभा बुढामगर,सन्ध्या चन्द,नवराज सुनार,राजीव थापा,अविजित बस्नेत,सत्य चौधरी,सिर्जना चौधरी,सीता शाह,बालिका डाँगी,सम्झना बोहोरा,निर्मला खत्रीलगायत ३० जनाले रक्तदान गर्नुभएको थियो ।


शिक्षालयका प्रमुख वसन्त आचार्यले जिल्लामा रगतको अभाव हुँदै गरेको अवस्थामा शिक्षालयले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो । शिक्षालयका सहायक प्रमुख गोपाल रेग्मीले निर्वाचनका कारण रक्तदाताको अभावले बिरामीलाई रगत अभाव हुन थालेपछि कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सामाजिकरूपमा उत्तरदायित्व बहन गराउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक नरेश चौधरीका अनुसार माघ महिनामा रक्तदान कार्यक्रमबाट ११ पिन्ट र अन्य दाताबाट एक सय ३७ गरी जम्मा एक सय ४८ पिन्ट रगत सङ्कलन भएको थियो । फागुन महिनाको ११ गतेसम्म १८ पिन्ट सङ्कलन भएकोमा ४५ पिन्ट खपत भइसकेको छ । राप्ती प्रादेशिक असपतालमा ८० जनाले नियमितरूपमा डायलासिस गर्दै आउनुभएको छ ।