
तुलबहादुर कवँर मगर
मसुरिया, २४ मंसिर।
दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा निरमाया चौधरी प्रथम, रिमा चौधरी द्वितीय र अन्जु सार्की तृतीय भएका छन्। त्यस्तै जमुना क्षेत्री र आकृति चौधरी सान्त्वना भएका छन् ।
विजेताहरूलाई क्रमशः १४ हजार, १२ हजार, १० हजार र ४ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नम्बर ७ मिलनचोकदेखि वडा नम्बर ३ बसन्तापुरसम्म करिब ४ किलोमिटर दूरीमा सञ्चालन भएको प्रतियोगितामा ७६ जनाले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिला सशक्तीकरण, शारीरिक तन्दुरुस्ती तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले सामूहिक एकताबाट मात्र लैङ्गिक हिंसा अन्त्य हुनसक्ने उल्लेख गर्दै, सामाजिक सञ्जालको दुरुपयोगले पनि महिला हिंसा बढिरहेको भन्दै सचेत रहन आग्रह गरे।
त्यसैगरी उपाध्यक्ष कमलापति चौधरीले १६ दिने अभियान सञ्चालन गरेर मात्रै लैङ्गिक हिंसा अन्त्य नहुने उल्लेख गर्दै यसका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्ने बताइन् । उनले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार १२:२० बजे