तुलसीपुरमा दुर्घटना तीन जना घाइते : बालकको दाहिने खुट्टा चुडियो

दाङ
२४ पुस / तुलसीपुरमा शनिबार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जीप र मोटरसाईकल एक अपासमा ठोक्किदा गढवा गाउँपालिका वडा नं. ५ घर भइ एकता पोल्ट्री प्रालिमा कार्यरत ४१ बर्षीय रामजलन चौधरी, उनका ९ बर्षीय छोरा अर्जित चौधरी र नाति नाता पर्ने राप्ती गाउँपालिका वडा नं. ५ निवासी ३ बर्षीय आशिष चौधरी गम्भीर घाइते भएका हुन् ।


पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु १ च ४९६७ नम्बरको सोही पोल्ट्रि फर्मको बोलेरो र पश्चिम तर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकल ठोक्किदा रामजलन र उनका छोरा अर्जितको दाहिने खुट्टा भाँचिएको छ भने नाति आशिषको दाहिने खुट्टाको घुँडादेखि चुँडिएको छ ।

दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ भमके खोलामा ठक्कर दिदा घाईते भएका उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । गोडा चुँडिएका ३ बर्षीय अशिषका वुवा पनि सोही पोल्ट्रि फर्ममा कार्यरत रहेको प्रहरीले बताएको छ ।