सडक खाल्डा पुर्नेदेखि असहायलाई राहात दिने ‘उपेन्द्र’

तुलसीपुर, २७ साउन ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ जीतपुर निवासी उपेन्द्र पौडेल हातमा बेल्चा लिन्छन् र सडकका खाल्डा–खुल्डी पुर्नमा ब्यस्त हुन्छन्, कहिल्यै गरीब दुःखीलाई राहात वितरणमा ब्यस्त हुन्छन् । त्यति मात्रै होईन्, न्यून आर्थिक अवस्था भएकाहरुकालागि कपडा बैंक समेत खोलेका छन् । तुलसीपुर बसपार्क र घोराहीको तुलसीपुर चोकमा उनले कपडा बैंक खोलेका छन् । त्यसबाट आवश्यकता अनुसार कपडा लिन सकिन्छ । “हुनेले दिने र नहुँनेले लिने हाम्रो नीति हो”,उनले भने “त्यो अनुसार मैले कपडा बैंक पनि खोलेको छु ।”

सरकारी अस्पतालहरुमा फोहर देखेपछि सावुन र सावुनजन्य पदार्थ राख्ने, तुलसीपुर बसपार्कको प्रतिक्षालयमा रंगरोगन गर्ने देखि विभिन्न पुलहरु रंगरोगन गर्ने, गरिब बस्तिहरुमा अवलोकन गर्ने र आवश्यकता अनुरुप सहयोग सामग्री उपलब्ध गराउने, विभिन्न विपद तथा प्रकोपहरुमा आर्थिक, खाद्यान्न तथा अन्य सहयोग गर्ने कार्य पनि उपेन्द्रले गर्दै आएका छन् । त्यति मात्रै होईन्, गरीब बस्तिका घरमा टिनका छाना लगाइदिनेजस्ता कार्य पनि गरिहेका छन् । धेरै कार्यहरु उनले एक्लै गर्दै आएका छन्, भने केही कामहरु भने सामूहिक रुपमा गर्दै आएका छन् । सरसफाई गर्ने, विभिन्न ठाउँमा श्रमदान गर्ने जस्ता कार्यहरु गर्दै आएको उनले बताए । “आफू केही नगर्ने तर, अर्कालाई दोष थुपार्ने प्रबृति हावी भइरहेको छ”,उनले भने“यसलाई चिरेर सामाजिक कार्य गर्नुपर्छ, भन्ने सन्देश दिन मैले यो अभियान थालेको हुँ ।” उनले यसरी लामो समयदेखि नै सामाजिक कार्य गर्दै आएका छन् । कोरोनाको बेला राहात वितरण गर्ने कार्य समेत गरे । समाज सुधार गर्नलाई सबैले हातेमालो गर्नुपर्ने उनको भनाई छ ।


समाज एउटा ब्यक्तीले नभई सबैको सहकार्यबाट नै सुधार हुने भन्दै एकले अर्कालाई दोष दिन नहुँने उनको मान्यता छ ।“समाज सुधार गर्नलाई ब्यक्तीको प्रयासले मात्रै हुँदैन”,उनले भने“सबैको हातेमालो आबश्यक हुन्छ, त्यो कुराको सन्देश दिन मैले यो कार्य गरेको छु ।” दाङमा मात्रै होईन्, उनले अन्य जिल्लामा पनि यो अभियानलाई अगाडी बढाउने बताएका छन् । समाज सुधारकालागि यो अभियानलाई निरन्तरता दिने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक