
तुलसीपुर, १२ साउन ।
दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकसमेत रहेका यादवलाई आज बिहान घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पु¥याएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।
गर्मी बढेसँगै विशेषगरी तराई र मध्यहाडी क्षेत्रमा समेत सर्पदंसका घटना बढेका छन् । गर्मीमा शीतल तथा आहाराको खोजी गर्दै सर्प घरभित्र आउने जोखिम धेरै रहेकोले सावधानी अपनाउनुपर्ने सर्प विज्ञहरुले बताएका छन् । झ्यालमा जाली राख्न, सुत्नुअघि ओछ्यानमा सर्प भए/नभएको यकिन गर्न, झुल लगाएर सुत्न, घरभित्र सर्प बस्ने सम्भावित ठाउँलाई निगरानी गर्न आग्रह गरिएको छ ।



लाइभदाङ । १३ श्रावण २०८२, सोमबार १९:०२ बजे