बंगलाचुलीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

तुलसीपुर, ३ साउन । दाङको बंगलाचुली गाउँपालिकामा श्रीमानले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् ।  जिल्लाको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीका ३८ बर्षीय जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनमाथी लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुबैजनाले मादक पदार्थ सेवन गरेको र पछि घरायसी विवाद हुदा सोही क्रममा जागेश्वरले टाउकोमा लठ्ठीले प्रहार गर्दा गोमाको मृत्यु भएको हो । बिहिबार राति करिब १० बजेको समयमा घरायसी विवाद चर्किएपछि उनले लठ्ठीले प्रहार गर्दा गोमाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीच लामो समयदेखि घरायसी झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडाले उग्र रूप लिदा हत्याको अवस्था सृजना भएको देखिएको डिएसपी शाहले बताउनुभयो ।


घटनापछि प्रहरीले हत्या आरोपी पुनलाई घटनास्थलबाटै पक्राउ गरिसकेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताउनुभयो । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहमिा राखिएको छ ।

मुलुकी अपराध संशिता, २०७४ को ज्यान सम्बन्धि कसुरको उपदफा १ मा कसैले कसैको नियतपुर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन नहुने उल्लेख गरिएको छ भने त्यस्तो कार्य गर्ने व्यक्तीलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ ।

तर, कानुन जतिनै बलियो भएपनी यस्ता हत्या हिंसाजन्य अपराधिक कृयाकलापहरु भने अझै रोकिन सकेका छैनन् । विशेषगरी सामान्य कुरामा पनी आवेशमा आएर रिसको झोकमा यस्ता हत्याका घटना हुने गरेको पाइएको छ । घटना भएपछी भोग्नुपर्ने अवस्थाका बारेमा पहिले महसुस नहुदा (नसोच्दा) अधिकांस घटना हुने गरेका छन् भने त्यस्ता घटनामा संलग्न व्यक्तीहरु पछी पछुताउने गर्छन् ।