
भिम मरासिनी
दाङ, ३१ जेठ ।
विश्व रक्तदाता दिवस २०२५ को अवसरमा दाङ जिल्लामा एकै दिन १३३ प्रीन्ट रगत संकलन गरिएको छ। दाङको घोराही र तुलसीपुरमा विभिन्न सामाजिक संस्थाहरूको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएका हुन् ।
घोराही नगर जेसीजले आयोजना गरेको कार्यक्रममा ४० प्रीन्ट, तुलसीपुर नगर जेसीजको कार्यक्रममा १४ प्रीन्ट र मानव धर्म सेवा समितिको आयोजनामा ७९ प्रीन्ट रगत संकलन गरिएको इलाका रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ।
दाङमा हाल लमही, घोराही र तुलसीपुर गरी तीन स्थानमा रक्तसञ्चार केन्द्रहरू सञ्चालनमा छन्। ती केन्द्रहरूमा दैनिक २५ देखि ३० प्रीन्ट रगतको माग हुने गरेको छ। यद्यपि, रक्तदानप्रति जनचेतना अभावका कारण आवश्यकताअनुसार रगत संकलनमा चुनौती आइरहेको छ।
रक्तदान कार्यक्रममा पहिलोपटक सहभागी भएकी तुलसीपुर–८ की पार्वती बस्नेतले पहिलो पटक रक्तदान गर्न पाउँदा खुसी लागेको बताउँदै भनिन्,‘रक्तदानले कमजोरी हुन्छ भन्ने मानसिकता गलत भएको बताउनु भयो साथै अब आफुले स्वास्थले साथ दिदासम्म नियमित रुपमा रक्तदान गर्नेछु ।’ भन्दै यस्तो मानविय पुण्य काममा सबैलाई अनुरोध गर्नु भयो ।
स्वास्थ्यकर्मीहरूका अनुसार १८ वर्ष उमेर पूरा भएका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्ति रक्तदान गर्न उपयुक्त मानिन्छन्। पुरुषहरूले प्रत्येक ३ महिनामा र महिलाले प्रत्येक ४ महिनामा एक पटक रक्तदान गर्न सक्नेछन्।
मानव जीवन रक्षाको यो पुण्य कार्यमा सबैले सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आयोजक संस्थाहरूले आगामी दिनमा अझ धेरै युवाहरूलाई प्रेरित गर्ने बताएका छन्।



लाइभदाङ । ३२ जेष्ठ २०८२, शनिबार १६:३४ बजे