वर्षेनी बेरुजु घटाउँदा पनि तुलसीपुर नै प्रथम !

दीपक बोहरा
दाङ, १५ जेठ ।
दाङको तुलसीपुर उपमहानगर–पालिका आर्थिक वर्ष २०८०/०८१ मा बेरुजुमा जिल्लाका १० पालिका मध्ये धेरै बेरुजु हुने पालिका बनेको छ । तुलसीपुर उपमहानगरपालिका विगतमा पनि अन्य पालिकाको तुलनामा प्रथम नै हुन्थ्यो । आर्थिक वर्ष २०७८/०७९ मा ६.६९ प्रतिशत बेरुजु थियो, भने २०७९/०८० मा ३.१६ प्रतिशत बेरुजु भएर द्धितिय थियो । यस पटक २.२९ प्रतिशत बेरुजु भएर प्रथम नै भएको छ । यद्यपी विगतदेखि नै वर्षेनी बेरुजु भने घटाउँदै आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा  ३  अर्ब ५७ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण हुँदा २३ करोड, ९१ लाख ३७ हजार बेरुजु देखिएको थियो । जुन ६.६० प्रतिशत थियो । यो बेरुजु उपमहानगरपालिका मध्ये सबै भन्दा धेरै थियो ।

अर्को आर्थिक वर्षमा बेरुजु घटायो । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा दोस्रो भयो । जतिबेला ३.१६ प्रतिशत बेरुजु अर्थात १३ करोड २४ लाख ७१ हजार थियो । ४ अर्ब १९ करोड ६७ लाख रुपैयाँको लेखा परीक्षण रकममा उक्त बेरुजु देखिाएको हो ।

त्यस्तै गएको आर्थिक वर्ष २०८०/०८१ मा २.१९ प्रतिशत रहेको छ । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । यसरी वर्षेनी बेरुजु घटाईरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । “हामीले विगतदेखि नै बर्षेनी बेरुजु घटाईरहेका छौं”,उनले भने“अहिले देखिएको बेरुजु पनि सैद्धान्तिक बेरुजु हो ।”


दाङका पालिकाको बेरुजुको अबस्था
दाङका १० वटा पालिका मध्ये सबै भन्दा बढि बेरुजु तुलसीपुर उपमहानगरपालिकाको रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार तुलसीपुर उपमहानगरपालिका जिल्लाको सबै भन्दा बढि बेरुजु भएको पालिका हो, भने सबै भन्दा कम राप्ती गाउँपालिका रहेको छ ।

दोस्रो राजपुर गाउँपालिका, तेस्रो दंगीशरण गाउँपालिका, चौथो लमही नगरपालिका, पाँचौं शान्तिनगर गाउँपालिका,छैठौं घोराही उपमहानगरपालिका,सातौं बंगलाचुली गाउँपालिका,आठौं गढवा गाउँपालिका र नवौं बबई गाउँपालिका रहेका छन् । जिल्लाका १० पालिकाको बेरुजु २९ करोड बढि छ । साभारः अग्रिम साप्ताहिक