क्रान्तिकारी पत्रकार महासंघ दाङ अध्यक्षमा गैरे

तुलसीपुर
१३ पुस / क्रान्तिकारी पत्रकार महासंघ दाङको तुलसीपुरमा भएको प्रथम जिल्ला भेलाले ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो । समितिको उपाध्यक्ष तेज बहादुर बुढाथोकी , सचिव रिता केसी, सहसचिव संगीता मगर र कोषाध्यक्षमा ममता बिकलाई चयन गरिएको छ ।

समिति सदस्यमा डिला चौधरी,प्रकाश पुन,सरोज न्यौपाने र राम प्रसाद न्यौपानेलाई निर्वाचित गरिएको छ । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताए । उनले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताए ।


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निरज केसी समीरले जिल्लामा ब्याप्त बिकृती बिसङगती विरुद्ध कलम चलाउन आग्रह गरे । कार्यक्रममा क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत, अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले मन्तब्य ब्यक्त गरेका थिए । भेला महासङ्घ प्रदेश सदस्य शुसिला आचार्यको अध्यक्षतामा भएको थियो ।