दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउन सुगर बरामद : समीरले भारतबाट ल्याए, चन्द्राले दाङ भित्र्याईन

दाङ
६ पुस /  दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध (व्राउनसुगर) बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार पत्रकार सम्मेलन गरि एकसय ५० ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

सोमबार बुलुका साढे ४ बजेतिर नेपालगञ्जबाट दाङ ल्याउँदै गरेको अबस्थामा अमिलियाबाट उक्त परिमाणको ब्राउनसुगरसहित भारतको बहराईज मन्सुरगंज कदरी जामा मस्जिद बस्ने १८ बर्षीय अमीर अन्सारी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने ४५ बर्षीया चन्द्रा राणालाई पक्राउ गरिएको हो ।

शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा खोजतलास गर्दा उनीहरुले हाइनेक भित्र घाँटीमुनीको भागमा लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कर्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनका अनुसार समीरले भारतबाट ब्राउन सुगर नेपाल भित्र्याएको र चन्द्राले सोही ब्राउनसुगरलाई दाङ ल्याएको भनि प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।


सोही परिमाणको ब्राउन सुगरलाई नेपालमा करिब १२ लाखमा बिक्री गर्ने गरेको उनले बताए । जसमध्ये विक्री गरे वापत चन्द्राले १० प्रतिशत रकम पाउने गरि सहमति भएको खुलेको प्रमुख काफ्ले बताए ।

पछिल्लो समय दाङमा लागुऔषधको निकै माग बढेको भन्दै सोही अनुसार ओसारपसार गर्ने कार्य भइरहेको उनले बताए । सूचना पाएसम्म आफूहरुले कडाईकासाथ अनुसन्धान गरिरहेको समेत उनको भनाई छ ।

विगत ५/६ महिनामा करिब १ केजीको हाराहारीमा आफूहरुले बरामद गरेको समेत उनले बताए । एकसय ग्र्राम भन्दा बढि ब्राउनसुगरसहित पक्राउ परेको खण्डमा १५ बर्षदेखि जन्मकैदसम्म सजाय हुने र पाँचलाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यबस्था रहेको छ ।