तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा

टेकराज भण्डारी
तुलसीपुर, २३ फागुन ।
पछिल्लो समय दाङमा लागू औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन ‘लागूऔषध दुर्व्यसन सम्बन्धि चेतनामूलक कार्यक्रम’ गरिएको छ ।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरिएको ‘लागूऔषध दुर्व्यसन सम्बन्धि चेतनामूलक कार्यक्रम’ अन्तर्गत तुलसीपुर ७ मा रहेको माध्यमिक विद्यालय कालाखोलामा सेचतनामूलक प्रशिक्षण गरिएको छ ।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष जीवन भण्डारीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यो अभियानले जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।


सो कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

कक्षा ११ र १२ का ५५ जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको पूर्व प्रहरी निरीक्षक रामबहादुर जिसीले बताउनुभयो ।

यूवा तथा खेलकुद उप-समितिका संयोजक टेकप्रसाद भुसालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव दीपक केसीले गर्नुभएको थियो ।