थारु नेताले नै अपमान गरेको ‘दंगीशरण’को इतिहास : प्रचण्ड र देउबालाई घुमाए चखौरा, सुकौराको मतलब छैन

दीपक बोहरा
दाङ, २८ माघ ।
दंगीशरण  थारुले  राज गरेको  ठाउँ हो–तुलसीपर ११ स्थित सुकौरा । त्यसलाई नै थारु समुदायले गर्वानुभूति गर्ने गरेका छन् । तर, वास्तविक थारु समुदायको सुकौरा अहिले ओझेलमा छ । त्यहाँको इतिहास नै मेटिने अवस्थामा पुगेको छ । त्यसलाई संरक्षण गर्न तर्फ यस क्षेत्रका थारु अगुवाले ध्यान दिएका छैनन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका डिल्ली बहादुर चौधरी आफ्नै अध्यक्षतामा शनिबार चखौरामा कार्यक्रम गरेँ र पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई ल्याए ।

यस क्षेत्रमा थारु समुदायको नेतृत्व गरिरहेका र पूर्व मुख्यमन्त्री समेत भइसकेका चौधरीले आफ्नो संग्राहलयमा कार्यक्रम गरे । तर, सुकौराका नाम एक पनि लिएनन् । यस अघि माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नो संग्राहलय अवलोकन पनि गराए । तर, न त प्रचण्ड, न त देउवा, दुबै जनालाई उनले सुकौराको एक पनि बयान गर्दैनन् । गर्छन्ःकेवल, चखौरा स्थित संग्राहलयको । उनले आफ्नो व्यवसाय सञ्चालन गर्ने कुराको कुनै आपत्ति होईन्, तर, थारु नेतृत्व नै भएकाले यहाँको इतिहास नामेट बनाउने तर्फ लाग्नु हुँदैन, भन्ने थारु अगुवाहरुको बुझाई छ ।

उद्यपी यस्ता कुरामा प्रचण्ड चलाख छन् । माओवादी केन्द्रको खबरदारीसभामा उनले चखौराको थारु संग्राहलयको अवलोकन गरेको भएपनि दंगीशरण राजाले राज गरेका स्थान सुकौराको इतिहासलाई जोगाउन पहल थाल्ने बताए । यो विषयमा माओवादी नेता जगप्रसाद शर्मा र धनबहादुर मास्कीले आफ्नो मन्तव्यमै ध्यानाकर्षण गराएका थिए ।

यद्यपी शनिबार देउवाले भने सुकौरा भन्ने नाम पनि लिएनन् । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम मटावाँ बरघर भलमन्साको अधिवेशनमा देउवालाई सुकौरा के हो, भन्ने कुरा गुमराहमा नै राखियो । यो विषयमा थारु अगुवा भने रुष्ट छन् । “आफ्नो संग्राहलय चलाउने कुरा ठीकै हो”, थारु अगुवा महेश थारुले भने“तर, इतिहासलाई नामेट पार्ने गरि आईएनजीओले संग्राहलय चलाउने, इतिहास बोकेको ठाउँ ओझेल पर्ने कुरा राम्रो होईन ।”

हजारौंको संख्यामा थारु अगुवालाई बोलाइसकेपछि थारु राजाले राज गरेको स्थान : सुकौरालाई पनि स्तरबृद्धि गर्न तर्फ ध्यान दिनुपर्ने भएपनि त्यसो गर्न नसकेको थारु अगुवाहरुको गुनासो छ । “दंगीशरण राजालाई सरकारले पनि मानेको कुरा हो, दंगीशरण राजाकै नामसंग जोडिएर दाङ जिल्लाको नाम रहेको कुरा हो”, थारु अगुवा भन्छन् “तर, यसलाई नामेट बनाउने गरि जुन चाल रचिदैछ,यो मान्य हुँदैन ।”  सुकौरालाई पर्यटकीय रुपमा विकास गर्न तर्फ थारु अगुवाले ध्यान दिनुपर्ने अगुवाहरुको भनाई छ ।

सुकेको सुकौरा
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित सुकौरा इतिहास भएपनि त्यहाँ हेर्नलायक केही छैनन् ।  त्यहाँ एउटा भ्यूटावर छ । तर, त्यसको पनि प्रयोग छैन । स्थानीय अगुवा मस्तबहादुर चन्दका अनुसार त्यहाँको हरित पार्क पनि बनेको थियो । त्यो पनि अलपत्र छ । नाम हरित पार्क भएपनि त्यही कहिँकतै पनि हरियो देख्न सकिदैन । निर्माण भएको पार्कमा गरिएको तारवार पनि फालिएको छ । पार्कमा कहिलेकाही गाइभैसी चरणको क्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुवो मरिसकेको छ । त्यही पार्कमा दंगीशरण राजाको सालिक पनि राखिएको छ । २५ लाख लगातमा त्यहाँ पार्क र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो ।

त्यहाँ राजाले राज गरेको एतिहासिक ठाउँ संरक्षण गर्ने कुने चासो दिईएको छैन । जो पायो त्यही भित्र छिर्न सक्छन् । त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ । एतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर, त्यस्तो हुन नसकेको स्थानीयको गुनासो छ ।

चखौरा भने चम्कियो
त्यही दंगीशरणको नाम भजाएर अहिले चखौरा भने चम्किएको छ । पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अध्यक्ष भएको संस्थाले सञ्चालनमा ल्याएको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरा स्थित थारु संग्राहलयमा दैनिक भीडभाड हुन्छ । त्यहाँ रंगीचंगी र झकिझकाउ छ । त्यसैलाई हेर्न टिकेट सिस्टम गरिएको छ । दैनिक एक हजारसम्म त्यहाँ अवलोकन गर्नेहरु आउछन् । टिकेट शूल्क रु ५० रहेको छ ।

त्यहाँ नेपालका हरेक थारु समुदायको पहिचान झल्किने कुराहरु राखएिको छ । त्यो सबै राज्यकै सहयोग हो । आफू पटक–पटक मन्त्री हुँदा होस्, वा मुख्यमन्त्री हुँदा होस । त्यति मात्रै होईन्, मुख्यमन्त्री नहुँदा पनि उनले त्यहाँ सरकारबाटै बजेट ल्याउर संरचना थपिरहेका छन् । त्यहाँ सरकारको करौडौं लगानी भएको छ ।

दंगीशरण राजाकै नामबाट दंगीशरण गाउँपालिका पनि राखिएको छ । तर, सुकौरालाई दंगीशरणमा नमिलाउदा पनि सबै बजेट दंगीशरण स्थित चखौरामा गएको त्यहाँका नागरिकको गुनासो छ । दंगीशरण नामकरण गर्दा सुकौरालाई पनि दंगीशरणमै मिसाएको भन्दै त्यहाँको विकासले फड्को मार्ने स्थानीयको भनाई छ ।

सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किम्वदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे ।


दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन्। बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे । राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारु अगुवा रामशरण चौधरीले बताए ।

अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र  समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वत अन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा  उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

वि.सं.१९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो। रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गरिन् । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किम्बदन्ती रहेको छ ।

पकियाको पनि अपमान
प्रमुख अतिथिको रुपमा रहेका देउवाले थारु पकियालाई समेत अपमान गरेको थारु अगुवाको गुनासो छ । “सेतो पगिया टाउकोमा बेर्छन् । थारु मुल्य मान्यतामा रहेका छ । थारु समुदायको विवाहमा दुलाहाले लगाउने गर्छन्”, काँग्रेस निकट थारु अगुवा भन्छन् “यस्ता कार्यक्रममा पगियालाई प्रमुख अतिथिलाई लगाईदिने चलन छ । तर, उहाँ(देउवा)ले पगिया छराएर राख्नुभयो, यो पगियाको अपमान हो ।” साथै कार्यक्रम उद्घाटन गर्ने क्रममा पनि थारु परम्परा अन्तरगत नभएको गुनासो छ ।

थारु समुदाय शिक्षित हुनुपर्छ : देउवा
सभापति देउवाले थारु समुदाय संस्कार  र संस्कृतिमा धनि भएको भन्दै अब थारु समुदाय शिक्षा र सीपमा पनि अगाडी बढ्नु पर्ने बताए । सभापति देउवाले थारु संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने तर्फ पनि ध्यान दिनुपर्ने बताए । पछिल्लो समय थारु समुदाय पनि नेतृत्वमा गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताए । थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । त्यस्तै डिल्ली बहादुर चौधरीले थारु संस्कार, संस्कृतिलाई संरक्षण गर्नकालागि यो संग्राहलयले भूमिका खेलेको बताए । साभारः अग्रिम साप्ताहिक