दाङमा दिनानुदिन भइरहेका छन्, दुर्घटनाः ट्राफिक जनशक्ति न्यून

दाङ, ८ माघ ।
दाङमा सवारी दुर्घटना बढिरहेका छन् । दिनानुदिन दुर्घटना भइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाबाट ४७ जनाको मृत्यु भएको छ ।

जिल्लामा अहिलेसम्म एकसय ६ दुर्घटना भएका छन् । जसबाट ८० जना गम्भीर घाइते तथा ६४ वटा सख्त घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षमा दुईसय ३ वटा दुर्घटनाबाट ९८ जनाको मृत्यु भएको थियो । दुईसय ३७ जना घाइते तथा एकसय १५ जना सख्त घाइते भएका थिए ।

यसरी दुर्घटनाको तथ्यांक हेर्दा अबस्था बिकराल रहेको उनले बताए । सडक सञ्जाल साँघुरो तर सवारी दैनिक बढिरहेदा पनि दुर्घटना बढिरहेको उनले बताए । “बर्षौ पहिलेको सडक स्तरोन्नति हुन सकेको छैन”,उनले भने “तर, गाडी भने दैनिक बढिरहेका छन् ।” जिल्लामा ४० हजार बढि गाडी दर्ता भएर चलिरहेको उनको भनाई छ । तर, जिल्लामा २०६० सालतिर कायम भएको ट्राफिक प्रहरीको दरबन्दीले नै अहिलेसम्म धानिरहेको प्रमुख शाहीको भनाई छ । “०६० सालमा ३१ दरबन्दी कायम थियो, काजमा गरेर जिल्लामा ६२ जना कार्यरत छौं”, उनले भने “यसले गर्दा काम गर्न निकै गाह्रो हुने गरेको छ ।”


एउटा ट्राफिकले ३२ किलोमिटर हेर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । चालककै लापरवाहीका कारण दुर्घटना बढिरहेको भन्दै चालक पनि सचेत हुनुपर्ने उनको भनाई छ । जिल्लामा २० वटा ट्राफिक प्रहरीका युनिट रहेको समेत उनले बताए । यसरी दुर्घटना बढेपछि जिल्लामा टाईमकार्ड लागु भएको थियो ।

घोराही–तुलसीपुर सडकमा टाइमकार्ड सुरु गरिएको थियो । गएको वर्ष फागुनमा टाईमकार्ड लागु गरिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । उक्त सडक खण्डमा ७० मिनेटको टाइमकार्ड लागु गरिए पनि कार्यान्वयन नहुँदा सवारी तिब्र गतिमा रहने गर्छन् । त्यसको अनुगमन पनि हुने गरेको छैन । अधिकांश तिब्र गतिकै कारण हुने गर्छन् । पूर्व–पश्चिम राजमार्गको दाङ खण्डमा लागु गरिएपनि त्यसको पनि प्रभावकारी प्रयोग हुन सकेको अवस्था छैन । साभारः अग्रिम साप्ताहिक