दीपक बोहरा
दाङ, १८ मंसिर ।
दाङमा किसानले उत्पादन गरेको दूधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ बाघमारे स्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैसीको दूध विक्री नभएपछि फाल्न बाध्य भएका हुन् । दुग्ध विकास संस्थानले दूध खरिद गरिदिने भनि सहमति भएसंगै सहकारीले दूध खरिद गरेर संकलन गर्ने गरेको भएपनि पछिल्लो समय समयमा दूध नलिदिने समस्याले गर्दा यसरी फाल्न बाध्य भएको संस्थाका अध्यक्ष नेववहादुर रोकाले बताए । “हामीले उत्पादन गरेको दूध दुई बर्षसम्म लियो, त्यसपछि पछिल्लो समय १५ दिनमा एक पटक आउँछ”,उनले भने“त्यो पनि एक हजार लिटर मात्रै लिन्छ ।”
त्यहाँ दैनिक तीन सय लिटर भन्दा बढि दूध उत्पादन हुन्छ । त्यो गर्दा १५ दिनमा पाँच हजार बढि दूध उत्पादन हुने भएपनि एक हजार मात्रै लिदा भण्डारणमा पनि समस्या हुने गरेको अध्यक्ष रोकाको भनाई छ । त्यस्तै चिलिङ भ्याटमा सात दिनसम्म मात्रै उक्त दूध भण्डारण गर्न सकिन्छ, त्यो भन्दा बढि राख्दा विग्रिएर जाने समस्या समेत रहने गरेको भन्दै यसरी फाल्न बाध्य भएको उनले बताए ।“चिलिङ्ग भ्याटमा सातदिन सम्म मात्रै राख्न सकिन्छ”,उनले भने “त्यो भन्दा बढि राख्दा विग्रिएर जान्छ ।”
त्यहाँका एक सय बढि किसानले दूध उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउँदै आएका छन् । त्यो दूध दुग्ध विकास संस्थालाई बेच्ने र त्यहाँबाट आएको पैसा किसानलाई दिने गरिदै आईएको थियो । तर, पछिल्लो समय सम्पर्कमा पनि नआउने र बाँकी रहेका पैसा पनि नदिएपछि किसान चिन्तित हुने गरेको उनको भनाई छ । संस्थाबाट करिब २० लाख रुपैँया दूधको बाँकी रहेको समेत अध्यक्ष रोकाको भनाई छ ।
लाइभदाङ । १८ मंसिर २०८१, मंगलवार २१:२७ बजे