जीर्ण छात्रावास हुँदा जोखिममा विद्यार्थीहरु

दीपक बोहरा
तुलसीपुर, ३० चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबास भवन जीर्ण छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना हुँदा विद्यार्थीहरु जोखिम मोलेर बस्नु पर्ने अबस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताउनुभयो । हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अबस्था छ । त्यहाँ बस्ने विद्यार्थीहरु पनि डराई डराई बस्नु पर्ने अबस्था छ ।“भवन पुरानो छ, भत्किन्छ की भन्ने डरले बस्नु पर्छ”, उहाँले भन्नुभयो ।

भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । २०४९ सालतिर उक्त छात्राबास भवन निर्माण भएको हो । ३० बर्ष पुगिसकेको त्यो भवनका हरेक संरचनाहरु कमजोर बन्दै गएका छन् । आफूहरु बस्दा भवन राम्रै भएपनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्व विद्यार्थी भिमलाल मरासिनीले बताउनुभयो ।“म ७ बर्ष यही भवनमा बसेँ, २०५५ देखि ०६२ सम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”,उहाँले भन्नुभयो“यो बीचमा भवनपनि राम्रै थिए, तर, अहिले आएर हेर्दा भवन पनि भत्किेलान्, भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।” त्यो छात्राबासमा ८ जना विद्यार्थीहरु बसिरहेका छन् ।


त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताउनुभयो । उहाँका अनुसार भारतीय दुताबासमा प्रपोजल हालेको भन्दै चालु बर्षमै बजेट आउने आस्वाशन पाएको शर्माको भनाई छ ।

विद्यार्थीहरु जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरुको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब एक करोडको लागतमा दुई बर्ष अघि निर्माण भएको विजौरी स्थित भवनमा बाहिरबाट आएका शिक्षकहरु बस्ने गरेका छन् ।“सहसचिब,उपसचिब स्तरका शिक्षकहरु बाहिरबाट आउनु भएको छ, उहाँहरुलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला पनि नपाईने अबस्था थियो”,प्राचार्य शर्माले भन्नुभयो“त्यसैले शिक्षकहरुकालागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्रााबसमा बस्ने विद्यार्थीहरु पनि नभएकाले केही समय छात्राबास खाली पनि भएको थियो ।