
सल्यान, १२ कात्तिक ।
सल्यानमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट पराल लिएर छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो ।
मिनी ट्रक दुर्घटना हुँदा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १३ वर्षको सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।
अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर लगिएको बताउनुभयो । घाइते भएका केहीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन । उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उहाँको भनाइ छ ।



लाइभदाङ । १२ कार्तिक २०८१, सोमबार १९:२१ बजे