साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली

दाङ, ३ असोज ।
बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ।

दाङको घोराही उपमहानगरपालिका–१८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उहाँको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागवत्ती दिनुभएको थियो ।

शर्माका दाउरेनी खण्डकाब्य, आचार–विचार बाल लघु काब्य, बुढा जोर सिमलका रुखहरु, केही कृति समीक्षा र विविध, बुढा भएछन् कलमहरु, मेरो गाउँ र मेरा भोगाइहरु, सम्झनामा मेरो अतित र छोरीहरु (कविता संग्रह) लगायतका एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्थ्यो ।


उहाँले मावि चौघेरामा प्रधानाध्यापकका रुपमा लामो समयसम्म सेवा गर्नुभएको थियो । दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गर्नुभयो । वि.सं. १९९७ साल जेठ १५ गते जन्मनुभएका उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ ।

शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्व गर्नुभएको थियो । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष हुनुभएको थियो । शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो । राप्ती साहित्य परिषद्लगायतका संघसंस्थाद्वारा उहाँ पुरस्कृत र सम्मानित हुनुभएको थियो ।

राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । पुस्तकालयका सल्लाहकारसमेत रहनुभएका शर्माको निधनप्रति सर्वोदय पुस्तकालय तथा वाचनालयले दुःख व्यक्त गरेको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमले शोक विज्ञप्ति प्रकाशित गरी पुस्तकालयका लागि अतुलनीय योगदान दिनुभएको भन्दै उहाँको निधनमा दुःख व्यक्त गर्नुभएको छ  ।