कुनै बेला टरिगाउँ र नेपालगञ्जमा १९ सिटे जहाज मात्रै चल्थे

दाङ,२४ भदाै । स्थानीय नेताहरूको दबाबमा क्यानले ६० करोड खर्चेर दाङको टरीगाउँ विमानस्थल कालोपत्रे गर्‍यो । तर, दुईवटा उपमहानगरपालिका रहेको दाङ उपत्यकाकै विमानस्थलमा नियमित उडान हुन कठिन भइरहेको छ । सानो जहाज चढेर दाङ पुग्न डेढ घण्टा लाग्ने, भाडा १२ हजार सम्म  । तर, एटिआर चढेर ५० मिनेटमै नजिकै नेपालगन्ज झर्न सकिने । भाडा पनि ६ हजार मात्रै । ‘अब भन्नुस् १२ हजार तिरेर डोर्नियर वा ट्विनअटर चढी दाङ जानुहुन्छ कि ६ हजारमा एटिआर वा जेटस्ट्रिम जहाज चढेर नेपालगन्ज जानुहुन्छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रश्न गर्दै भने, ‘नेपालगन्जबाट बस चढेर सजिलै दाङ उपत्यका जान सकिन्छ, यात्रा पनि सहज र खर्च पनि कम भयो ।’

अब प्रश्न आउन सक्छ– दाङ एयरपोर्ट हिजो किन चल्यो, आज किन चलेन ? ‘हिजो नेपालगन्ज र दाङ दुवै ठाउँमा ट्विनअटर चल्थ्यो, नेपालगन्ज जान एक घण्टा ३० मिनेट र दाङ जान एक घण्टा २० मिनेट लाग्थ्यो । नेपालगन्जको भाडा १३ हजार हुँदा दाङको ११ हजार थियो । उस्तै, प्रकारको जहाजमा प्रतिस्पर्धा पनि हुन्थ्यो । अहिले नेपालगन्जमा ७२ सिटका एटिआर उडान गर्न थाले, समयसँगै भाडा पनि घट्यो, तर दाङमा अहिले पनि डोर्नियर वा ट्विनअटर उडाउनुपर्छ, भाडा र समय घटेन । यात्रुहरूले सजिलो र सस्तो रोजे,’ भुलले भने ।


उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ । अहिले हप्ताको सोमबार मात्रै उक्त विमानस्थलमा जहाज बस्ने गर्छ ।