सार्वजनिक सुनुवाई : दूध विक्री नभएकोदेखि धान बगाएको सवाल

दीपक बोहरा
तुलसीपुर, ६ साउन ।
दाङ राप्ती गाउँपालिका वडा नं.६ पत्थरगढवा स्थित मनिराम चौधरीले अहिलेको बर्षादले १० जना किसानको धान बगाएको गुनासो गर्नुभयो । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्षेनी किसानले लगाएको धान बगाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै समशेर अलीले पनि आफूले दुईसय भैसी पालन गरेको भएपनि उत्पादित दूधको बजारीकरण गर्न नसकिएको गुनासो गर्नुभयो । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग राख्नु भयो । साथै अनुदानको ब्यबस्थापन पनि हुनुपर्ने उहाँको माग थियो । यसको जवाफ दिनुहुँदै पालिका अध्यक्ष प्रकाश विष्टले उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको भन्दै तटबन्ध तथा कलभर्ट निर्माणको कार्यकालागि आफूले सार्वजनिक सुनुवाईमा कुरा आएपछि जानकारी पाएको भन्दै त्यसलाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै उहाँले दूधलाई बजारीकरणकालागि पहल थाल्ने उहाँको भनाई छ ।


राप्ती गाउँपालिकाले यस बर्ष वडा नंं. ६ स्थित पत्थरगढवामा सार्वजनिक सुनुवाई गरेको हो । जहाँ कृषकहरुको संख्या धेरै छ । पालिकाले उत्पादनलाई नै प्राथमिकता राखेकाले बढि कृषक भएको क्षेत्रमा आईतबार सार्वजनिक सुनुवाई गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनुभयो ।“पालिकाको केन्द्रमा गर्दा सबै एकै किसिमका प्रश्न आउने र एउटै ब्यक्तीहरु पटक–पटक सहभागी भइरहने अबस्था आयो”,उहाँले भन्नुभयो“अहिले कृषि क्षेत्रका समस्या सुन्न, यहाँ आयौं ।”

कृषि क्षेत्रका धेरै समस्याहरु आएकाले ति समस्या समाधान गर्ने तर्फ लाग्ने पालिका अध्यक्ष विष्टको भनाई छ । कुलो मर्मत, तरकारी बजारीकरण, तटबन्ध निर्माणका कुराहरु माग भएको उहाँले बताउनुभयो । त्यति मात्रै नभई समयमा मल, विउको उपलब्धताका विषयमा पनि कुरा उठेको अध्यक्ष विष्टको भनाई छ । साभारः अग्रिम साप्ताहिक