महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गर्‍यो

काठमाडौं,२३ असार ।
देशका विभिन्न जिल्लामा अहिले पनि पानी परिरहेको छ । लगातारको झरीसँगै महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ ।

डडेल्धुरा, बर्दिया, बाँके, स्याङ्जा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ । लगातार पानी परिरहेका तथा जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसमविद्को आग्रह छ ।


गएराति पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्‍यो । नदी तथा खोलाखहरेमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा झरी कायमै रहने जनाएको छ ।