भूमिहिनका क्षेत्रमा राम्रो काम भएको छ : संयुक्त राष्ट्र संघका नेपाल प्रमुख हाना

प्रिया स्मृती गजमेर
लमही, ३१ जेठ ।
संयुक्त राष्ट्र संघक नेपाल प्रमुख हाना सिंगर हेम्डीले लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुख संग भेटघाट गर्नु भएको छ । साथै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बारेमा समेत चासो राख्नु भएको छ ।

जिल्ला भ्रमणका शिलशिलामा लमही आउनु भएकी नेपाल प्रमुख हेम्डीले अन्य जिल्लाहरु भन्दा लमही नगरपालिकामा राम्रो काम भएको भन्दै प्रसंशा गर्नु भयो ।

ऐलानी जग्गा नापजाँच गर्ने क्रममा केही स्थानमा वनले अबरोध गरेको भन्दै त्यो समस्यालाई प्रधानमन्त्री र शिर्ष तहका राजनीतिक नेतृत्वसंग छलफल गरेर निकास निकाल्ने बताउनु भयो ।


भूमिहिन दलित र सुकुम्बासीहरुको सवालमा राष्ट्र संघ गम्भीर छ, यो मुद्दा हाम्रो पनि हो, हामीले यो पटक उनिहरुलाई हातमा लालपुर्जा दिनु पर्छ भनेर समन्वय गरिरहेका छौं’ उहाँले भन्नू भयो ।

उहाँले भूमि शाखाले हरेक वडाबाट संकलन गरेका सुकुम्बासीका बारेमा जानकारी लिनु हुँदै बाँकी रहेका कामहरु तिब्रगतिमा अगाडी बढाउन आग्रह गर्नु भएको छ ।

सो क्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले संयुक्त राष्ट्र संघका नेपाल प्रमुख हाना सिंगर हेम्डीलाई स्वागत गर्नु भएको थियो । विपत व्यवस्थापन शाखाका प्रमुख गायत्री थापाले संचालन गर्नु भएको थियो । भूमि शाखाका संयोजक प्रकाश भण्डारीले नगरपालिकाले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनु भएको थियो ।