गाउँमा कपाल काटिदिने छैनन्ः विद्यालयमा प्रअले काटिदिन्छन्

दीपक बोहरा
तुलसीपुर, ३१ जेठ ।
विद्यार्थीहरूले लामै कपाल पालेका हुन्छन् । गर्मीले त्यो कपालले विद्यार्थीहरुलाई निकै असहज बनाएको हुन्छ । त्यसपछि विद्यालयका प्रधानाध्यापकले थालेका छन् विद्यार्थीको कपाल काट्ने अभियान । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित नवजागरण मावि कुटेचौरमा अहिले विद्यार्थीहरुको कपाल काट्ने अभियान चलिरहेको छ । विद्यालयका प्रधानाध्यापक टंक केसीका अनुसार विद्यार्थीहरुको कपाल काट्नकालागि मेसिन नै ल्याइएको छ । त्यही मेसिनले कपाल काटिदिने गरेको उनले बताए ।

गाउँमा विद्यार्थीहरूको कपाल काटिदिने पनि कोही नभएकाले विद्यालयमा मेसिन ल्याएर आफूहरूले नै कपाल काटिदिने गरेको उनको भनाई छ । “गाउँमा कपाल काटिदिने मान्छे समेत भेटिन गाह्रो छ, न्यून आय भएका विद्यार्थीहरू अध्ययन गर्ने भएकाले बजार गएर कपाल काट्न पनि सक्दैनन्”,उनले भने “त्यसैले हामीले विद्यालयमै कपाल काटिदिने गरेका छौं ।” गर्मीको समयमा लामो कपाल पाल्दा विद्यार्थीहरूलाई पनि निकै असहज हुने र सरसफाई पनि नहुँने भएकाले त्यस्तो कार्य गरिएको उनको भनाई छ ।


दैनिक १० जनासम्म विद्यार्थीहरूको त्यसरी कपाल काटिदिने गरेको उनले बताकाएका छन् । “अधिकांस विद्यार्थीहरू त्यसरी कपाल नकाटेका हुनुहुन्छ”,उनले भने “त्यस्ता विद्यार्थीहरू दैनिक १० जनाको कपाल काटिदिने गरेका छौं ।” प्रअ केसी आफै विद्यार्थीको कपाल काट्न खट्ने गरेका छन् ।

यो कार्यलाई निरन्तरता दिने प्रअ केसीले बताएका छन् । “हामीले यो कार्यलाई निरन्तरता दिने छौं”,उनले भने “गाउँमा आफै कपाल काटेर आए ठीक छ, नभए हामी विद्यालयमा पनि काटिदिनुपर्ने अवस्था हुन्छ ।” कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा साढे तीन सय विद्यार्थी अध्ययनरत छन् । जहाँ अहिले कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्याममा पढाई भइरहेको छ । साभारः अग्रिम साप्ताहिक