तुलसीपुरवासीले घरमै पाउन थाले स्थानीय सरकारको सिफारिस

गणेश आचार्य
दाङ, ३० जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले दाङमै पहिलोपटक डिजिटल सिफारिस सेवा सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज वडा नम्वर ६ बाट डिवि किराना पसल दर्ताको डिजिटल सिफारिस माग गर्नुभएका सेवाग्राही वीरबल शर्मालाई डिजिटल सिफारिस दिएर सेवाको शुभारम्भ गर्नु भएको छ ।

नगर प्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकाले डिजिटल सिफारिस ऐन जारी गरेर १९ वटै वडामा आजदेखि कार्यान्वयनमा ल्याएकोे जानकारी दिनुभयो । उहाँले बिस्तारै अन्य सेवा समेत डिजिटलाइज्ड गर्दै लैजाने बताउनुभयो । नगरप्रमुख खड्काले नगरवासीलाई हात हातमै सेवा प्रदान गर्नका लागि सेवा सुरु गरिएको बताउनुभयो ।

पालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले तुलसीपुर उपमहानगरपालिकाको एप्स डाउनलोड गरी सेवाग्राहीले जुनसुकै ठाँउबाट सिफारिस लिन सकिने बताउनुभयो । उहाँले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस प्राप्त गर्न सकिने बताउनुभयो ।


सिफारिसका लागि पैरवी गर्दै आउनुभएका द एसिया फाउन्डेशनका कार्यक्रम व्यवस्थापक प्रमुख गोबिन्द बस्नेतले सेवाग्राहीले समयमै घरमै बसेर सेवा प्राप्त गर्न सक्ने र जनप्रतिनिधिहरुसमेत अन्य कामका लागि समय व्यवस्थापन गर्न सक्ने बताउनुभयो । उपमहानगरले डिजिटल सिफारिस सेवा सुरु गरेकाले अबदेखी तुलसीपुर उपमहानगरवासी कुनैपनि सिफारिस ल्याउन वडा वा उपमहानगरको कार्यलयमा आउन नपर्ने भएको छ ।