विपत प्रतिकार्यका लागि सरोकारवालासंग छलफल

प्रिया स्मृती गजमेर
लमही, २५ जेठ ।
यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।

मनसुन नेपाल भित्रिनु भन्दा पुर्व लमही नगरपालिकाले सरोकारवालाहरुसंग छलफल गरेको छ । वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाको विपत शाखा र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।


हरेक वर्ष वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोबाट ठुलो क्षति हुने गरेको भन्दै सचेत रहन आग्रह गर्दै उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन विपत शाखा र सुरक्षाकर्मीलाई निर्देशन दिनु भएको हो ।

लमही नगरपालिका विपत शाखा प्रमुख गायत्री थापाले जुनसुकै समयमा निम्तिने विपतलाई सामना गर्न आफुहरु तयार रहेको बताउनु भयो । ‘मनसुन नेपाल भित्रिने समय नजिकै आइरहेकोले विपतले छुने सम्भावित ठाउँहरुको विवरण तयार गरेका छौं, केहि गरि ति ठाउँहरु विपतको चपेटामा परिहालेमा कसरी उद्दार र पुनर्स्थापना गर्न सकिन्छ भनेर मानसिक रुपमा हामी तयार नै छौं ।’ प्रमुख थापाले भन्नु भयो ।