दाङको विकट क्षेत्र हारीचारमा पुग्यो विद्युत

दाङ, २० जेठ । दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका वडा नं.१ हारीचारलगायतका क्षेत्रमा विद्युत पुगेको छ ।

संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत सेवा सूचारु गरिएको हो । वडा नं. १ को विकट क्षेत्र हारीचार, कालापहरा, बाघखोर, तिनुखारा, बान्द्रखोला, आरखुट्टी, बसिनडाँडा, सिद्धपधेरा, सालघारी, हल्दे, बाँझविसाउनलगायतका क्षेत्रमा पहिलो पटक विद्युत पुगेको हो ।

जहाँ चारवटा वटा ट्रान्समिटर जडान गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताए । पेदीखोला, हारीचार, बाघखोर र कालापहरामा ट्रान्समिटर जडान गरेर सेवा प्रदान गरिएको हो । लामो समयदेखि त्यहाँका करिब चारसय घर परिवार विद्युतको पखाईमा थिए ।


सोलार,टुक्कीको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरु विद्युत पुगेपछि भने खुसी भएका छन् । अब बिभिन्न कुटानी,पिसानीलगायतका कार्यकालागि पनि सहज हुने हारीचारका दुर्गा घर्तीले बताए ।

उक्त कार्यको लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा मास्कीले पश्चिम दाङ विकट क्षेत्रका रुपमा लिइने र विकासका हिसाबले पछि परेको भन्दै अब त्यसो हुन नदिने बताए । उनले पश्चिम दाङलाई हरेक हिसाबले समृद्ध दाङ बनाउने आफ्नो अभियान रहेको बताए ।“पश्चिम दाङलाई सबैले कर्णाली भनेर भन्छन्”,उनले भने “तर, अब त्यसो रहदैन्, समृद्धि पश्चिम दाङ बनाउछौं ।”

त्यस अवसरमा विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशेलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिब पृथ्वी पौडेलले गरेका थिए ।