प्रिया स्मृती गजमेर,
दाङ,१६ बैशाख ।
सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।
शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ ।
यो गीतको म्युजिक भिडियो काभ्रेपलान्चोकको दोलालघाटमा छायांकन गरिएको हो भने पछिल्लो समयका नाम चलेका कलाकार विजय पुनसंगै आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ। जाले रुमालमा दाग देखे पछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ। त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै र अलमल पनि परे जस्तो दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन ।
गायक खेम सेन्चुरीले पनि यो गीतलाई न्याय दिएर गाएको, म्युजिक भिडियो पनि उत्तिकै मेहनत गरेर बनाएको हुँदा स्रोताको मन जित्ने कुरामा आफु आशावादी भएको सर्जक रामदामले बताउनु भयो । माया पीरमको परिधिभित्र रहेर गीत तयार गरेको प्रतिक्रिया दिंदै सबैले मन पराई दिनु हुनेछ भन्ने कुरामा आफु विश्वस्त भएको उहाँको भनाई छ ।
सर्जक रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यस अघि स्रोता माझ ल्याई सक्नु भएको छ । अन्य गीतलाई झैं यो गीतलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु रामदामले भन्नु भयो।
नवलपुर जिल्लाको बुङलिङटार गाउँपालिका थामवेशी र गैंडाकोटका स्थायी बसोबास रहेका सर्जक रामदाम लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ लोक तथा दोहोरी गीतमा शब्द चयन गर्नमा माहिर हुनुहुन्छ भने प्रत्यक्ष दोहोरी गायनमा पनि उतिक्कै क्षमता राख्नु हुन्छ । त्यस्तै गायन तथा शब्दमा संगीत भर्ने देखि लिएर अभिनयमा समेत दक्खल राख्ने एक उर्जावान कलाकार हुनुहुन्छ ।
लाइभदाङ । १६ बैशाख २०८१, आईतवार ०७:२२ बजे