पश्चिम दाङका ८ वटा पुल तथा सडक बहुवर्षीयमा समावेश

अन्जना बिश्वकर्मा
तुलसीपुर,१० वैशाख ।
पश्चिम दाङमा परेका ८ वटा पुल तथा सडक बहुबर्षिय योजनामा समावेश भएका छन् । लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्कीले हालेका ९ वटा पुल मध्ये पाँच वटा पुल तथा तीन वटा सडक बहुबर्षियमा समावेश भएर कार्यान्वयनमा अघि बढेका छन् ।

गहतेखोला–पातेटाकुरा बाघमारे हुँदै हापुरे जोड्ने माथिल्लो सडक स्तरोन्नतीकालागि बहुबर्षियमा परेको छ । जसकालागि चालु वर्षमा मास्कीले ४ करोड बजेट बिनियोजन गरेका थिए । सोही सडक २६ करोड ६५ लाख ११ हजार रुपैँयामा स्तरोन्नती हुने छ । तीन बर्षमा निर्माण हुने गरि सोही सडकमा प्रत्येक वर्ष ११ करोड ३२ लाख बजेट आउने छ ।

त्यस्तै बबईको बगरपुर जलुकेबाटो स्तरोन्नती उकालो बाटोमा ढलान कार्य पनि बहुबर्षियमा समावेश भएको छ । जहाँ चालु वर्षमा ७० लाख बजेट बिनियोजन भएको छ । सोही योजनाको लागत अनुमान ४ करोड ६६ लाख ६० हजार रहेको छ ।

त्यस्तै तुलसीपुरको नयाँगाउँ–पढ्ढा हुँदै अमिलिया जोड्ने बैकल्पिक सडककालागि चालु बर्षमा ५० लाख बजेट छ । जुन योजना पनि बहुबर्षियमा परेको छ । जसलाई पूरा गर्न ३ करोड ३२ लाख ९६ हजार रुपैँया लागत अनुमान गरिएको छ ।

पश्चिम दाङ जोड्ने शान्तिनगरको बौलाहखोला पुल बहुबर्षियमा परेको छ । जहाँ मास्कीले अर्थमन्त्री हुँदा एक करोड बजेट बिनियोजन गरेका थिए । सोही पुल निर्माण पूरा गर्न ३ करोड २२ लाख ७२ हजार बजेट लाग्ने अनुमान गरिएको छ ।


त्यस्तै ट्वाङखोलामा पक्की पुल निर्माणकालागि चालु बर्षमा एक करोड ५० लाख बजेट बिनियोजन गरिएको थियो । जुन योजना पूरा गर्नकालागि ६ करोड ७८ लाख  हजार लागत अनुमान गरिएको थियो । जुन पुल बहुबर्षियमा परेका छ ।

त्यस्तै पश्चिम दाङ जोड्ने माथिल्लो सडकको बीचमा पर्ने पातेटाकुरा खोलामा चालु बर्षमा प्रदेशबाट ७५ लाख बजेट परेको थियो ।सोही पुल पनि बहुबर्षियमा परेका छ । जसलाई पूरा गर्न ४ करोड ९८ लाख ५९ हजार लागत अनुमान गरिएको छ ।

त्यस्तै माथिल्लो सडक अन्तर्गत तुलसीपुर १ भमके खोलामा पक्की पुल निर्माणकालागि एक करोड बजेट परेको थियो । सोही पुल पनि बहुबर्षियमा परेको छ । जुन पुल निर्माण पूरा गर्नकालागि ३ करोड २२ लाख ७२ हजार लागत अनुमान गरिएको छ ।

त्यस्तै दंगीशरण गाउँपालिकाको बखरिया–कालितारा सडकबीचमा पर्ने कलमखोला पुलमा प्रदेशबाट एक करोड २५ लाख बजेट परेको थियो । जुन पुल पनि बहुबर्षियमा परेको छ । जुन पुल निर्माण पूरा गर्न ११ करोड २८ लाख १९ हजार आवश्यक पर्ने अनुमान गरिएको छ ।

सडक र पुल गरि परेका ८ वटा योजना पूरा गर्न प्रत्येक बर्ष बजेट आउने सुनिश्चित भएको छ । यसले पश्चिम दाङको विकासको एउटा आधार तयार गर्ने बताए । आफू निर्वाचनमा जाँदा जनताले यी योजनाहरु जोडतोडले माग गरेकाले आफू मन्त्री हुँदा बजेट बिनियोजन गरेको बताए । साभारः अग्रिम साप्ताहिक