पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते

तुलसीपुर, १ बैशाख ।
पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउका १४ बर्षीय सरज खड्का, स्कुटर चालक बबई गाउँपालिका-३ हंसपुरका ५२ बर्षीय देब प्रसाद आचार्य र स्कुटरमा सवार सोही वडाको खैरबट्टीका ४८ बर्षीय कुल बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार हंसपुरबाट हापुरेतर्फ आउदै गरेको रा८प ३२८७ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउदै गरेको रा ५ प ९६७५ नम्बरको स्कुटर बबई-५ पदमपुर नजिकै ठोक्किदा दुर्घटना भएको हो । घाइतेमध्य दुबै सवारी चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र पछाडी सवार दुबैजनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।