घोराही–तुलसीपुर सडकमा टाईमकार्ड लागु

दाङ, १४ फागुन । दाङको घोराही–तुलसीपुर सडकखण्डमा आज सोमबारदेखि टाइमकार्ड लागु भएको छ । तिब्र गतिमा सवारी चलाउदा दुर्घटना बढिरहेको भन्दै टाईमकार्ड लागु गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए । उनका अनुसार अब घोराहाी–तुलसीपुरमा सवारी साधन ७० मिनेटमा आवतजावन गर्नुपर्छ ।

घोराही–तुलसीपुर २३ किलोमिटर छ । जसमा घोराही तुलसीपुर सडकखण्डको घोराही–नारायणपुर ३० मिनेट र नारायणपुर–तुलसीपुर ४० मिनेट समय निर्धारण भएको छ । प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागु गरिएको हो ।


निःशुल्क रुपमा चालकलाई टाइमकार्ड दिने र हराएमा ५० रुपैँया छपाई शूल्क लिने दाङका ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार टाईमकार्ड निरीक्षणकालािग घोराही, नारायणपुर र तुलसीपुरमा ट्राफिक प्रहरी रहनेछन् ।

तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारी साधनलाई लापरवाहीअन्तर्गत कारवाही गरिनेछ । शुरुमा पाँच सय, दोस्रो पटक एक हजार, एक हजार पाँच सयको दरमा जरिवाना हुने ट्राफिक प्रमुख मल्लले बताए ।