राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख चोरी, कर्मचारी पक्राउ

काठमाडौं, १३ फागुन ।
राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक करोड ३७ लाख रुपैयाँ चोरी गर्ने बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कोरियामा बस्दै आएका एक युवकको खाताबाट बैंकका कर्मचारी रोहितकुमार ओझाले रकम निकालेका हुन् ।

ओझा वाणिज्य बैंकको वीरगन्ज, पोखरिया शाखामा कार्यरत थिए । ३१ वर्षीय ओझा बैंकका कनिष्ट सहायक हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । ओझाले खाताबाट पैसा चोरी गरेको स्वीकार गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकअनुसार बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी होबीन्द्र बोगटीले बताए ।


ग्राहकको नगद मौज्दात हेर्ने क्रममा ओझाले कोरियामा रहेका ती युवकको खाता नम्बर इन्ट्री गरेका थिए । सोहीक्रममा खातामा दुई करोड रुपैयाँभन्दा धेरै रकम देखे । लामो समयदेखि खातामा कारोबारसमेत नभएको देखेपछि उनले पैसा निकाल्ने योजना बनाए । त्यसका लागि कनेक्ट आइपिएसको दुरुपयोग गरेका हुन् । खातावालाको नागरिकताको फोटोकपीलगायत कागज बैंकबाटै निकालेर कनेक्ट आइपिएस अकाउन्ट बनाउने योजना बनाए ।

खातावालाको हस्ताक्षर केवाइसीबाट कपी गरेर कनेक्ट आइपिएसका लागि निवेदन दिएका थिए । सोही आधारमा नयाँ मोबाइल नम्बरबाट कनेक्ट आइपिएस चलाएर बैंक खाताबाट विभिन्न खातामा रकम ट्रान्सभर गरेका हुन् । कोरियामा रहेका खाताधनीले धेरैपटक पैसा निकालिसकेपछि मात्र थाहा पाएका थिए ।