ललिता निवास जग्गा प्रकरणको आज फैसला हुने

काठमाडौं, ३ फागुन ।
बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजो बुधबार फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाण्डौ जिल्ला अदालतमा पनि विचाराधीन छ ।