दाङ प्रहरीलाई एसएसपीको नेतृत्वमा ल्याउने तयारी

तुलसीपुर
८ कात्तिक / सरकारले दाङसहित ११ जिल्लाको प्रहरीको नेतृत्वमा एसएसपी ल्याउने तयारी गरेको छ । धेरै जनघनत्व भएका दाङ,झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, रूपन्देही, कास्की, बाँके र कैलालीमा एसएसपीको दरबन्दी थप गरिन लागेको हो ।

ठूला सहर रहेका जिल्लामा एसएसपी थप्ने गृहकार्य गृह मन्त्रालयले अघि बढाएको छ । गृहमन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केही उच्च पद थपसम्बन्धी प्रस्ताव अघि बढाइसकेको छ ।


हाल यी जिल्लामा प्रहरी उपरीक्षक (एसपी)ले नेतृत्व गर्दै आएका छन् । हाल काठमाडौं र ललितपुरमा मात्र एसएसपी जिल्ला प्रहरी प्रमुख छन् ।  ११ वटा जिल्लामा र बाँकी सातवटा प्रहरी प्रधान कार्यालयमा गरी एसएसपीको १८ दरबन्दी थप्ने प्रस्ताव अघि बढाइएको छ । त्यसमध्ये केही प्राविधिक पद छन् ।