डायलाइसिस सेन्टर भित्र बन्द रहेका दुई कोठाको ताला खुल्यो

दाङ, १२ माघ । लमही नगर विकास समितिले लमही सामुदायिक डायलाइसिस सेन्टरमा लामो समयदेखि बन्द रहेका दुई वटा कोठाको ताला खोलेको छ । प्रहरी प्रशासन तथा विभिन्न सामाजिक संघ संस्थाको रोहबरमा ति दुईवटा कोठाको ताला खोलेको लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरीले जानकारी दिनु भयो ।

लमही नगर विकास समितिले शुरुमा रेयुकाई नामक संस्थालाई जग्गा भाडामा उपलब्ध गराएको थियो । उक्त संस्थाले आफुले डिपिसीसम्म गरेर प्रयोग नगरी देउखुरी सामुदायिक अस्पताललाई पुनः भाडामा दिएको थियो । अस्पतालले घर बनायो, लामो समयसम्म ताला लगाएर राखेपछि सम्झौता भंग गरि लमही नगर विकास समितिले ताला फोडेर त्यहाँ भएका समान दुईवटा कोठामा राखि लमही सामुदायिक डायलाइसिस सेन्टरलाई भाडामा दिएको थियो ।

त्यसपछि अस्पताल संचालक समितिका अध्यक्ष शिवा कुमारी शर्माले क्षतिपूर्ति पाम भनेर एक वर्ष अगाडि उच्च अदालत तुलसीपुरमा मुद्दा दिनु भएको थियो तर उच्चले उक्त मुद्दा नगर विकासको पक्षमा फैसला गरिदियो ।

उच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै शर्माले पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्नु भएको थियो । शर्माले दिएको मुद्दामा दुवै अदालतले लमही नगर विकास समितिका पक्षमा फैसला गरेको थियो । अदालतले नगर विकास समितिको पक्षमा फैसला गरेपछि ति सामान लैजान पटक-पटक खबर गर्यौं तर उहाँले सुन्नु भएन’- लमही नगर विकास समितिका सूचना अधिकारी हरिकृष्ण खनालले भन्नु भयो ।


यता लमही सामुदायिक डायलाइसिस सेन्टरलाई ठाउँ अभाव भयो भनेर गुनासो आइरहेको छ, त्यस कारण आज शुक्रबार सबैको रोहबरमा कोठाको ताला खोलिएको छ, खालि भएका कोठाहरु लमही सामुदायिक डायलाइसिस सेन्टरले प्रयोजनमा ल्याउँछ’- खनालले भन्नु भयो ।

आज सरोकारवालाहरुको रोहबरमा खाली गरिएको सामान नगर विकासले नगरपालिकाको कभर्ड हलमा लगेर राखेको छ । बन्द कोठाको तालका खोल्ने समयमा इलाका प्रशासन कार्यालय लमही, लमही नगर विकास समिति, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग वाणिज्य संघ लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बन्द कोठाभित्र रहेका समान यस प्रकार रहेका छन् ।
४८ थान फलामका बेड, बेड डसना च्यातिएको ३८, घुम्ने कुर्सी ६, स्टेक्चर २, प्लाष्टिक कुर्सी ४, अक्सिजन सिलिन्डर ५, औषधि राख्ने र्याक १०, काउन्टर टेबल २, अन्य टेबल ३, सलाइन स्टेन्ड १३, काठको बेञ्च ४, औषधि तथा सामान राख्ने स्टुल १०, काठको पलंग १, सिरानी १, सेतोबोर्ड १५, कम्बल ३४, तन्ना ६, गद्दा ६, काठ र फलामको स्टुल २३, प्लाई १, हात धुने मेसिन जस्तो १, लोबेड ४, प्लाष्टिक पाइप १, सिलिङ्ग फ्यान १, औषधि बोक्ने र्याक १, बेड सिट १, डिजिटल बोर्ड १, बिरामी बोक्ने चिएर १, स्ट्याण्ड पंखा १, जालो १, ग्यास चुल्हो १, जुट कार्पेट १, टिनको बाकस १, प्लाष्टिक बाटा १, प्रेसर कुकर २, कोठे थाल स्टिलको २, स्टिल गिलास ४, स्टिल प्लेट साना ठुला ४, एक्सरे मेसिन १ र स्टेक्चर जस्तो सिट १ थान रहेको छ।

अस्पताललाई भवन साँघुरो भएको भन्दै संगै रहेको जग्गा डायलाइसिस सेन्टरलाई उपलब्ध गराई दिन लमही नगर विकास समितिलाई लमही सामुदायिक डायलाइसिस सेन्टर आग्रह गरेको छ । बिरामी दिनानुदिन बढ्दै गएका छन्, अस्पतालमा आएका बिरामीलाई ठाउँ खालि छैन भनेर अन्यत्र जानुस भन्नु पर्ने बाध्यता रहेको छ, यस कारण पनि डायलाइसिस सेन्टरलाई जग्गा खाँचो छ’- रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले भन्नु भयो।