खानेपानीको सुविधाको लागि नगरपालिका तयारः नगर प्रमुख चौधरी

दाङ, २२ पुष ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगरबासीलाई खानेपानीको सुविधा पुर्‍याउनका लागि लमही नगरपालिका तयार रहेको बताउनु भयो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

खानेपानीलाई नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको र त्यसका लागि एक घर एक धाराको निति अगाडी सारेकोले सरकारले अघि सारेको लक्ष्य पुरा गर्नु स्थानीय सरकारको दायित्व भएको उहाँको भनाई छ। लमही नगरपालिकाले खानेपानीको कार्यविधि बनाएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले देउखुरी उपत्यका लुम्बिनी प्रदेशको केन्द्र बनेसंगै बस्ति विकासको क्रम पनि बढ्दै गएकोले बस्ति विकासमा खानेपानीको मागलाई पुरा गर्न लमही खानेपानीले खानेपानीको क्षमतालाई बढाउदै लैजान आवश्यक रहेको सुझाब दिनु भएको थियो ।


खानेपानीका पूर्व अध्यक्ष कर्ण बहादुर बुढाथोकीले ३ सय २० घरधुरीबाट शुरु भएको योजनाबाट अहिले ५ हजार २८ उपभोक्ताहरुले खानेपानीको उपभोग गर्दै आएकोले बढ्दो मागसंगै खानेपानीको क्षमता बढाउदै लैजान सुझाब दिनु भयो।

लमही खानेपानीको उपाध्यक्ष सीता चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष बिम बहादुर केसी, घोराही खानेपानीका अध्यक्ष देवी बहादुर डिसी, बेलझुन्डी खानेपानीका अध्यक्ष प्रदीप गौतम, नारायणपुर खानेपानीका अध्यक्ष कुल प्रसाद रजौरे, डिभिजन खानेपानी कार्यालय दाङका प्राविधिक गजेन्द्र बहकरी, नेकपा माओबादीका लमही ईन्चार्ज दिलकुमार श्रेष्ठ, पत्रकार लिला शाह लगाएतले बोल्नु भएको थियो । संस्थाका सचिब बसन्त आचार्यले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बासुदेब गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन सचिब बसन्त आचार्यले गर्नु भएको थियो । सो अबसरमा खानेपानीको क्षेत्रमा लामो समय देखि योगदान पुर्‍याए बाफत कर्मचारीहरु कल्पना जिसी, लिला चौधरी, चन्दा खड्का, रमेश चौधरी र मनीराम चौधरीलाई सम्मान गरिएको थियो ।