बबई सामाजिक उद्यमी महिला सहकारी संस्थाको तेस्रो साधारणसभा हापुरेमा सम्पन्न

हापुरे, १७ मंसिर ।
दाङको बबई गाउँपालिकाका महिलाहरूले बबई कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको निरन्तरताको माग गरेका छन्। बबई सामाजिक उद्यमी महिला सहकारी संस्थाको तेस्रो साधारणसभाका अवसरमा सिड संस्थाद्वारा सञ्चालित हेफर प्रोजेक्ट नेपाल र बबई गाउँपालिकाको साझेदारीमा सञ्चालित परियोजनाको स्थानिय सरकारले म्याद थप नगर्दा बबईका करिव १६ सय बढि महिलाहरुमाथि घात गरेको उनिहरुले आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर क्षेत्रीले हुर्किएका सन्तानमा सदैव बुवाआमाले हक जमाउन खोज्दा सन्तानको स्वतन्त्रता हनन् हुने बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खत्रीले हेफर प्रोजेक्ट नेपालले बबईमा सहकारी गठन गर्नुको उदेश्य परियोजना सकिदा पनि सहकारीले भुमिका निर्वाह गर्न सकोस् भन्ने भएको बताउनु भएको छ।

यस बर्ष परियोजना सञ्चालन गर्न नसकिने बताउदै खत्रीले सहकारी आफैमा सक्षम भैसकेको बताउनु भयो । उहाँले स्थानिय सरकार परियोजना भन्दा पनि यसै सहकारी मार्फत काम गर्न चाहिरहेको बताउदै सहकारीले आफुहरुलाई एक्लो नठान्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि बबई गाउपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले बबईका महिला दिदिबहिनीको समस्यामा स्थानिय सरकार सदैव संगै रहेको बताउनुभयो । बबईका १६ सय बढि महिला दिदिबहिनीहरुले अपेक्षा गरेको बबई कृषि तथा पशु उद्यमशिलता परियोजना पुनः सञ्चालन गरिने खड्काको भनाई छ। उपाध्यक्ष खड्काले परियोजनाकै निरन्तरताका निम्ति बबई सरकारले २८ लाख बजेट विनियोजन गरेको बताउदै खड्काले आगामि कार्यपालिका मार्फत निर्णय गरेर परियोजनालाई निरन्तरता दिईने बताउनुभयो ।


बबई सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष हिरा नेपालीको अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिव जानकि खड्काले प्रस्तुत गरेको वार्षिक तथा आगामी कार्ययोजना सहितको प्रतिबेदन त्यस्तै कोषाध्यक्ष खिमा वली घर्तीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सर्वसहमतिले पारित गरेको छ । साधारणसभाले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्प प्रभावितहरुका लागी ७ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ।

बबई सामाजिक उद्यमी महिला सहकारी संस्थाका ब्यबस्थापक राजकुमारी वलीले सञ्चालन गरेको कार्यक्रममा बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वली, जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिकासराज बालान क्षेत्री, बबई गाउँपालिका कार्यपालिका सदस्य नारायण परियार, पञ्चमुखी बचत ऋण सहकारी संस्थाका ब्यबस्थापक रुपा राना, स्वावलम्वन कृषि समुह टिकुलीगैराकी अध्यक्ष सरिता चौधरी, सिर्जनसिल कृषि समुहकि अध्यक्ष पिमा कुमारी शर्मा शुभ कार्य समुहकि अध्यक्ष सञ्जिता सोती लगायतकाले बोल्नुभएको थियो ।

२०७८सालमा ६६ जना महिला दिदिबहिनी शेयर सदस्य रहेको सहकारीमा हाल ८ सय ७० जना सेयर सदस्य रहेका छन् भने करिव १६ सय बढि दिदिबहिनी समुह मार्फत आबद्ध रहेका छन् ।