फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्र हत्या गर्ने युवक पक्राउ

तुलसीपुर, १४ मंसिर ।
सामाजिक सञ्जाल फेसबुकको फेक आइडी बनाएर महिलाहरुको चरित्रमा आँच आउने खालको गतिविधि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘रमिता म’ भन्ने नामबाट फेसबुक आईडी बनाएर विभिन्न महिलाहरुको फोटो राखेर महिलाहरुको अपमान हुने गरि सामाजिक प्रतिष्ठामा आँच आउने खालको काम गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बस्ने २६ वर्षीय सरद कवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।


कवरलाई बुधबार साँझ ५ बजेको समयमा पक्राउ गरेको मल्ले बताए । उनलाई विद्युतिय कारोबार ऐन २०६३ बमोजिम कार्वाही हुने मल्लले बताए ।