जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

जाजरकोट, २२ कार्तिक ।
जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।


जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।