तुलसीपुर नगर जेसीसद्वारा रुकुमका भुकम्प पिडितहरूलाई राहत हस्तान्तरण

तुलसीपुर, २० कार्तिक ।
तुलसीपुरनगर जेसीजले भुकम्प पिडितहरुलाई राहत हस्तान्तरण गरेको छ। जेसीजले यही कार्तिक १७ गते आएको भुकम्पको कारणले धनजनको क्षती भएको स्थान रुकुमको आठबिसकोट नगरपालिकामा गइ भुकम्प पिडीतलाई राहत स्वरुप न्यानो ओढ्ने सीरक तथा रेडिमेड फेन्सी कपडा उपलब्ध गराएको हो।

तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीको नेतृत्वमा गएको टोलीले रुकुम स्थित आठबिसकोट नगर पालिकाको कार्यालयलाई सो सामानहरु हस्तान्तरण गरिेएको हो।

कार्यक्रममा भुकम्पमा परि रुकुममा मात्रै ४२ जनाको ज्यान गएको र ३० वटा घरहरु पूर्ण रुपले क्षतीग्रस्त भएको र करिब ५ हजार घरहरु आंसिक रुपमा क्षती भएको जानकारी आठबिस कोट नगर पालिकाका निमित्त कार्यकारी प्रमूख इन्द्र बहादुर बिष्टले गराएका थिए।


कार्यक्रममा बोल्दै तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष जेसी दिपेस भण्डारीले जेसीजले आफ्नो स्थापना कालदेखी नै सामाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको र समाजमा अकस्मात हुने यस्ता प्राकृतिक बिपत्तिका घटनाहरुमा अझ प्राथमिकताका साथ सहयोग गर्ने गरेको बताए।

त्यसैगरी तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीले जेसीज एउटा स्वयमसेवी संस्था पनि भएको र “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो ।” भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसाथ गर्दै जेसीजले यही कार्तिक १७ गते आएको महाभुकम्पको कारणले रुकुम र जाजरकोट जिल्लामा ठूलो धनजनको क्षती भएकोमा दुःख ब्यक्त गर्दै पिडीतहरुलाई थोरै भएपनि मलम पट्टिको काम गरोस् भन्ने उद्देश्यले आफ्ना सदस्यहरुबाट रकम संकलन गरि सो सामाग्रीहरु उपलब्ध गराएको बताए। साथै बिपतको यो घडीमा भुकम्प पिडीतहरुलाई यथासिघ्र उचित राहतको ब्यबस्था मिलाउन सरकारलाई अनुरोध पनि गरेका छन्।

सो अबसरमा ६५ थान फाइवर सिरक,४०० थान बढी फेन्सी कपडा लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिेएको थियो।तुलसीपुर नगर जेसीजका कार्य कारिणी उपाध्यक्ष एवम् सो राहत वितरण कार्यक्रमका कार्यक्रम संयोजक जेसी शैलेन्द्र कुमार ओली,कोषाध्यक्ष जेसी मनिष शाह र बरिष्ठ सल्लाहकार जेसी बिमल ओली लगाएतको सहभागिता थियो।