इजरायलमा मारिएका १० जनाकै शव नेपाल आइपुग्यो

काठमाडौँ, १९ कार्तिक ।
इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईनेछ ।


यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सापही– ६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनिया–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो । साभारः रातो पाटी