देव राज कँडेल
हापुरे, २१ असोज ।
दाङको बबई गाउँपालिकाको हापुरेमा सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएको छ। ‘सातै दिन सातै काम सडक सुरक्षा हाम्रो अभियान’ भन्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयनेजनामा गत असोज १७ गतेदेखि सञ्चालन भैरहेको कार्यक्रम अन्तरगत शनिबार हापुरेमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख किरण प्रकाश मल्लले नियम बिपरित सवारी साधन चलाउदा घट्ने दुर्घटनाले सम्बन्धित ब्यक्ति र परिवारलाई नै क्षेति पुग्ने बताउनुभयो । लाईसेन्स्, बिमा लगायतका अनिवार्य कागजातहरु समयमै बनाउन उहाँले सम्बन्धित सवारी धनी र चालकलाई अनुरोध गर्नुभयो ।
प्रहरी प्रमुख मल्लले यो समय बिज्ञान र प्रबिधिको युग भएकाले प्रविधिको विकासले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने भन्दै हापुरे बजार क्षेत्रमा सिसि टिभि जडानका निम्ति स्थानिय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले ट्राफिक प्रहरीसंग डराएर नियम पालना गर्ने हैन दुर्घटना न्युनिकरण गर्न सम्पुर्ण सवारी धनी, सवारी चालक र यात्रुहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो । क्षेत्रीले नियम पालना गरेर आफू र सबैलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गर्नुभयो ।
त्यस्तै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले जनता पनि बिना बर्दिका प्रहरी भएकाले सबैले आआफ्नो तर्फबाट भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा तुलसीपुर यातायात प्रालीका उपाध्यक्ष धनसिङ खत्रीले चाडपर्वका समयमा प्रालिले आवश्यकता अनुसार गाडी थप गरेर ब्यवस्थापन गर्ने तयारी गरेकाले असुरक्षित यात्रा नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
ट्राफिक नियमको पालना गरौं आफू बचौं अरुलाई पनि बचाउ भन्ने नाराका साथ २३ गतेसम्म सञ्चालन हुने ट्राफिक सप्ताहमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजय जंग थापा, ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनार लगायतको उपस्थिति थियो कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका बरिष्ठ सइ इश्वर देबकोटाले गर्नुभएको थियो ।
लाइभदाङ । २१ आश्विन २०८०, आईतवार १३:२४ बजे