दाङमा प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ

तुलसीपुर, ७ भदौ ।
दाङ प्रहरीले ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका २ भगवती टोल घर भई अहिले काठमाडौको चन्द्रागिरी नगरपालिका ५ गुर्जूधारा बस्ने ५८ वर्षीय नरेश गौतम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । उनले २२ वर्षीय एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर पटकपटक गरी २ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।


ती युवतीले आफु ठगीमा परेको भन्दै वडा प्रहरी कार्यालय लमही दाङमा जाहेरी दिएपछी आरोपीलाई गत श्रावण २९ गते काठमाडौबाट पक्राउ गरी दाङ ल्याएर १२ दिनको म्याद थप गरी अनुसन्धान गरेको र अझै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साथै, यस्ता किसिमका प्रलोभनमा पारी कोही कसैले ठगी गर्न सक्ने भएकाले सचेत र सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।