विद्यार्थीबाट ३ घन्टा थुनिए नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ, १ भाद्र । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी ३ घन्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको तथा विद्यार्थीका समस्यामा बेखबर बनेको आरोप लगाउँदै केन्द्रीय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले कुल सचिव अधिकारीलाई ३ घन्टा थुनेका हुन् ।

४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा गरेर पनि प्रकाशित नगरेकाले आन्दोलित हुनुपरेको स्ववियु सदस्य पारस गिरिले जानकारी दिए । कुलसचिव अधिकारीले भने विद्यार्थी सबै प्रक्रियाबारे जानकार नहुँदा आजको घटना भएको बताएका छन् ।


आयुर्वेद चिकित्सातर्फ सातौं सेमेस्टरको परीक्षाफल परिक्षा सुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने प्रावधान रहे पनि समयमै परीक्षाफल प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा विलम्ब भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।

स्ववियु र विश्वविद्यालयका बीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ । दुई महिनाअघि विश्वविद्यालयका तीन स्थानमा लागेको ताला खुलेको एक हप्ता नहुँदै कुलसचिवलाई थुन्ने काम भएको हो ।