घोराही–तुलसीपुर चारलेन मर्मतको काम सुरू

दीपक बोहरा
दाङ,९ साउन । दाङको घोराही– तुलसीपुर सडक खण्डको चारलेन सडक मर्मतको काम सुरु भएको छ । आईतबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो ।“ पहिलो चरणमा आजदेखी बबई नदि देखि हापुरखोला सम्मको करिव १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उहाँले भन्नुभयो“अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।”

हापुरखोलादेखि तुलसीपुरसम्मको काम बुधबारदेखि सुरु हुने उहाँले बताउनुभयो । घोराही क्षेत्रको १५ किलोमिटर रोल्पा निर्माण सेवाले ठेक्का पाएको छ, भने रोल्पा स्वच्छन्द निर्माण सेवाले तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत गर्ने ठेक्का पाएको छ । घोराही क्षेत्रमा १ करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा १ करोड १६ लाख ९६ हजार लागतमा ठेक्का गएको छ ।

घोराही–तुलसीपुर ४ लेन सडक मर्मतकालागि तीन करोड बजेट ब्यबस्थापन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसंगै सडक डिभिजन कार्यालयले मर्मतकालागि ठेक्का आह्वान गरेको हो । यस अघि भारतको एक्जिम बैंकले ऋण लगानीमा चारलेन सडक निर्माण सुरु भएपछि पाँच बर्षसम्म पनि सडक निर्माणले पूर्णता पाएन ।


उल्टै सडक भातुभुंग हुँदा दुर्घटना बढेको थियो । सडक बीचमा खाल्डा खुल्डी भए, जसले गर्दा आवतजावतमा पनि समस्या हुने भएपछि नागरिकले ब्यापक विरोध गरे । त्यसपछि ठेक्का तोड्न सरकार बाध्य भएको हो । ठेक्का तोडिएसंगै तीन करोड बजेटमा विग्रिएको यस अघिको सडक मर्मत गर्ने कार्य हुने प्रमुख अधिकारीले बताउनुभयो ।“चारलेन निर्माण गर्दा विग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो”,उहाँले भन्नुभयो ।

असोज मसान्तसम्म काम सक्ने गरि सम्झौता भएको छ । बर्षादको समयमा एक महिना काममा बाधा उत्पन्न भएपनि तोकिएको समयमा काम सकेर आवत जावत सहज बनाउने गरि काम अघि बढेको उहाँले बताउनुभयो ।

सडक मर्मत कार्य सुरु भएपछि यात्रु भने खुसी भएका छन् ।“सडकमा खाल्डाखुल्डीले बर्षादको समयमा झनै समस्या बनाएको छ”, तुलसीपुर ५ निवासी मोटरसाईकल चालक विजय नेपालले भन्नुभयो“पहिले कै सडकमा मर्मत भए धेरै सहज हुन्थ्यो ।”