प्राथमिक विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

तुलसीपुर,२७ असार ।
तुलसीपुर उपमहानगरपालिकाले प्राथमिक तहको शैक्षिक सुधारका लागि विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुलाई सूचना प्रविधि सम्बन्धित सीप प्रदान गरेको थियो । शिक्षक/शिक्षिकाहरुलाई सीप सिकाएसँगै आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण र ती सामग्री उपयोगमा ल्याउनका लागि सीप समेत प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । नगरप्रमुख खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री ढंगले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर प्राथमिक तहदेखि नै सुरुवात गरिएको बताउनुभयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १४ वटा प्राथमिक विद्यालयहरुलाई ल्यापटप,प्रिन्टर हस्तान्तरण गरेको छ । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले विद्यार्थीहरुको सिकाई उपलब्धि हासिल गर्नका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।


उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६ वटा प्राथमिक विद्यालयलाई स्मार्ट एलइडि टिभी हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत नै १२ वटा विद्यालयमा स्वच्छ खानेपानी व्यवस्था गरिएको छ भने चार वटा विद्यालयमा बाल उद्यान सञ्चालनमा ल्याइएको बताउनुभयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय कालाखोलामा गणित बाटिका समेत निर्माण गरिएको छ । तुलसीपुर १८मा रहेको शुभकोटी प्राथमिक विद्यालयका प्रधानाध्यापक झुमाकुमारी वलीले सूचना प्रविधि सामग्री सीप र सामग्री हस्तान्तरणसँगै विद्यार्थीहरुको शिक्षण सिकाईमा सहज हुने बताउनुभयो ।