७ सय ५३ वटै स्थानीय तहलाई भोलि बजेट सार्वजनिक गर्दै

काठमाडौ, ९ असार ।  देशभरका ७ सय ५३ वटै स्थानीय तहले भोलि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आजसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


अब सात सय ४३ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ । मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिकअनुसार कोशी प्रदेशका दुई, मधेशका एक, बागमतीका एक, गण्डकीका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरेका हुन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि ५२ पालिकाले समयमा बजेट पेस गर्न सकेका थिएनन् ।